काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्ले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको बताएका हुन् । उनले संसदमा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजेको हो ? भन्दै प्रश्न गरे ।
‘माननीय गृहमन्त्रीजीले तपाईंहरुले यति धेरै आक्षेप लगाउनुभएको छ यो हलभित्र, म रोष्ट्रममा उभिएर जवाफ दिन चाहन्छु भन्दा उहाँलाई निषेध, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? कस्तो संस्कृति बसाउन खोज्दैछौं हामीले यो असाध्यै चिन्ताजनक छ’, उनले भने ।
वाग्लेले आरोप लाग्ने बित्तिकै राजीनामा दिन तयार हुने हो भने सहमति गर्न कांग्रेसलाई चुनौती दिएका छन् । उनले गृहमन्त्रीले जवाफ दिन चाहेको बताइरहेको बेला बोल्न नदिएको प्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए ।
सांसद वाग्लेले प्रतिपक्षले सहकारीको महाकाव्य नै लेख्न खोजेको भएपनि समाधान दिन नसकेको आरोप लगाए । उनले सहकारी र लघुवित्तको समस्या समाधान गर्न यसै संसदबाट विधेयक बनाएर अगाडी बढ्न आग्रह गरेका छन् ।




प्रतिक्रिया