काठमाण्डु – गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको बहुमत जुटाएर मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख भट्टले दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा दाबी पेश गर्न ७ दिनको समय दिएका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ती गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न माननीय प्रदेश प्रमुख श्री डिल्लीराज भट्टज्यूले आह्वान गर्नुभएको छ ।’
संविधानको धारा १६८ को उपधारा (२) मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न ३१ सांसदको समर्थन आवश्यक रहेको छ ।





प्रतिक्रिया