काठमाण्डु- नेकपा (माओवादी केन्द्र) उपनिर्वाचनमा उम्मेदवारविहीन हुने भएको छ । माओवादी केन्द्र इलाम २ मा प्रतिनिधिसभातर्फ र बझाङमा हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको उपनिर्वाचनमा पुनः उम्मेदवारविहीन हुने भएको हो।
यस अघि गत वर्ष वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा पनि उम्मेदवार विहीनताको अवस्थामा पुगेको थियो। चितवन-२ बारा- १ र तनहुँ-२ मा भएको उपनिर्वाचनमा उम्मेदवार नदिएर माओवादीले कांग्रेसलाई सघाएको थियो।
गत उपनिर्वाचनमा कांग्रेसलाई सघाएको माओवादीले यसपटक सत्ता गठबन्धन परिवर्तन गरेर फेरि एमालेलाई सघाउने अवस्थामा पुगेको छ । यसपटक दुवै क्षेत्रमा आफ्नो उम्मेदवारी नदिएर नयाँ सहयात्री एमालेलाई सहयोग गर्न लागेको हो।
बैशाख १५ मा इलाम २ र सुदूरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ १ (१) मा हुन लागेको उपनिर्वाचनमा सत्तारुढ माओवादी केन्द्रले उम्मेदवारी नदिएर सत्ता सहयात्री एमालेलाई सहयोग गर्न आन्तरिक निर्देशन दिइसकेको छ।
बुधबार मात्रै इलाम २ मा टिकट दिएर पठाएका धिरेन्द्र शर्मालाई माओवादीले केन्द्रीय कार्यालयबाट एमालेका उम्मेदवारलाई सघाउन निर्देशन दिइसकेको छ।
एमालेबाट सोही क्षेत्रमा निर्वाचित भएका दिवंगत सुवास नेम्वाङका छोरा सुहाङ उम्मेदवार छन्। माओवादीका शर्माले उम्मेदवारी नदिने बताउँदै आफ्नो साझा उम्मेदवार सुहाङ नै भएको बताएका छन्।
यता बझाङमा सुदूरपश्चिम प्रदेशसभाको उपनिर्वाचनमा पनि हालसम्मैको घटनाक्रम अनुसार माओवादीले उम्मेदवारी नदिने देखिएको छ। तर आधिकारिक घोषणा भने गरिसकेको छैन।
इलामको हकमा एमालेका सु्हाङलाई समर्थन गर्ने मौखिक निर्देशन दिइसकेको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। उनका अनुसार बझाङको हकमा भने अझै निर्णय हुन बाँकी छ ।
माओवादीले बझाङमा पनि एमालेलाई नै सघाउने आन्तरिक तयारीमा रहेको जनाइएको छ । एमालेले त्यहाँ दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। यद्यपि सुदूरपश्चिम प्रदेश कमिटीका सचिव जनक बुढालाई माओवादीले पनि बझाङमा उम्मेदवार सिफारिस गरिसकेको छ।
पटक पटक उपनिर्वाचनमा उम्मेदवारविहीन हुँदा पार्टीलाई सांगठनिक क्षति हुने ती पदाधिकारी रोष प्रकट गर्छन्। तर केन्द्रमा सरकार र वर्तमान समीकरण जोगाउनुपर्ने बाध्यात्मक अवस्थाले यस्तो निर्णय लिनुपरेको ती पदाधिकारीले सुनाए।
‘संसदीय राजनीतिमा उम्मेदवारविहीन हुँदा पार्टीले ठूलौ क्षति व्यहोर्नुपर्छ । यसको पाठ हामीले पहिल्यै सिकेका छौं।, ती पदाधिकारीले भने, ‘तर केन्द्रमा सरकार र गठबन्धन जोगाउनुपर्ने बाध्यात्मक अवस्था छ।’
पटक पटक उम्मेदवार विहीन बन्दा जनमत अस्थिर भएर अन्यत्र स्थानान्तरण हुने हुँदा संगठन झनै कमजोर हुने माओवादी नेताहरुले गुनासो गरेका छन् । हरेक निर्वाचनमा आफ्नो मतको रक्षा गर्न पनि संसदीय राजनीति गर्ने दल उम्मेदवारविहीन हुन नहुने माओवादी नेताहरुको दावी छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको निरन्तरता र प्रदेशमा नयाँ समीकरण अनुरुप सरकार बनाउने आवश्यकताले गठबन्धनमा विश्वसनीयता कायम गर्न पार्टीमा उम्मेदवार विहीनताको अवस्था निम्तिएको कतिपयको तर्क छ ।




प्रतिक्रिया