अन्तरघात नगरेर पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु छ : सभापति देउवा

अन्तरघात नगरेर पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु छ : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए ।

पार्टीका काठमाण्डु क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिबार उद्घाटन गर्दै उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेतालाई सचेत गराए ।

उनले भने, ‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नु छैन, तपाईंहरूलाई थाहा नै छ । तर अहिले यही कुरालाई ध्यानमा राखेर, मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले यो ऐतिहासिक ठाउँ हो । ऐतिहासिक रूपको शहर भएको ठाउँ पनि हो । त्यसैले म सबै साथीहरूलाई पार्टीलाई एक बनाएर लगेर आपसमा घात, अन्तरघात नगरेर एक भएर यो पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपरेको छ हामीलाई । त्यसकारण झन् एक भएर हामी सबै साथीहरू लाग्दै बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर पूरा गर्नका लागि हार्दिक अनुरोध गर्दछु ।’

सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान पनि स्थानीय तहका कार्यकर्तालाई समझदारीका साथ काम गर्नुपर्ने बताए ।