काठमाण्डु – नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थको उपस्थितिमा घोडेजात्रा मनाएको छ ।
सैनिक मञ्च टुँडिखेलमा अश्वगकला प्रदर्शनीसहित आयोजित समारोह राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङ, शो–जम्प, म्युजिकल राइडका साथै सैनिक डगहरूको कला प्रदर्शन समावेश गरिएको थियो ।
समारोहमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले म्युजिकल राईडमा प्रथम र द्वितीय हुने उपसेनानी प्रसिद्ध बानियाँ र उपसेनानी निरोज थापा तथा सो–जम्पमा प्रथम र द्वितीय हुने सहसेनानी अशोक खकुरेल र प्युठ ओमप्रकाश यादवलाई पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख उपस्थित थिए । समारोहमा मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, महामहिम राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरू, सैनिक तथा गैरसैनिक महानुभावहरू, सञ्चारकर्मीहरू एवं सर्वसाधारणबाट समेत घोडेजात्राको अवलोकन भएको जनाइएको छ ।













प्रतिक्रिया