काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग राखेका विभिन्न मागमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा थपिएको छ ।
मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकाली लगायत क्षेत्रमा बृहत् प्रदर्शन गरिरहँदा दमन भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सांसद ज्ञानेन्द्र शाही सहितका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै राप्रपाले काठमाण्डुमा विरोध प्रदर्शन गरिरहेको छ । प्रदर्शनकै क्रममा कोणसभाको आयोजना गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा मागेका छन् ।
‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ,’ उनले भने ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले पानीका फोहरा हानेको छ । प्रदर्शनकारी सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।




प्रतिक्रिया