काठमाण्डु – प्रतिनिधिसभा बैठक भोलि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
आज मंगलबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका स्थगित भएको थियो ।
बैठक सञ्चालन गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि कांग्रेस गृहमन्त्री रवि लामिछानेविरुद्ध टसमस नभएपछि बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
मंगलबारको बैठकको सुरुमा नै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसनबाट उभिएपछि सभामुख घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए ।
सचतेक थिङले सूर्यदर्शन लगायत ६ वटा सहकारीबाट १ अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानूनी रूपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भनी सरकारसँग प्रश्न गरेकी थिइन् ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिए । उनले बोल्ने क्रममा कांग्रेस सांसदहरू आसनबाट उभिइरहेपछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गरे ।
त्यसपछि सत्ता पक्षका सांसद पनि आसनबाट उभिएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर भोलिसम्म स्थगित भएको छ ।
सहकारी ठगी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।




प्रतिक्रिया