कुवेत पठाइदिने प्रलोभनमा श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

कुवेत पठाइदिने प्रलोभनमा श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुवेतमा मासिक २८ हजार रूपैयाँ तलबमा काममा लगाइदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बो पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रसुवाको नौकुण्ड गाउँपालिका–१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाइदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बो पुर्‍याएको खुल्न आएको छ ।

तत्पश्चात कुटपिट गरी कोठामा बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा पीडित नेपाल फर्किन सफल भएका थिए । घटनामा संलग्न रही फरार रहेका घलेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको छ ।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डु जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।