प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔं : सभापति देउवा

प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔं : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

नेपाल तरुण दल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो माग गरेका हुन्। प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए।

‘हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौंसम्म पत्ता नलाग्नु कानुनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारबाही होस्’, उनले भने। दलका अध्यक्ष जितजंग बस्नेतले लोकतान्त्रिक मूल्य मान्यता, सुशासन, स्थिरता र विकासका लागि संगठन लागिपर्ने बताए।

२००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह संगठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो। कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले तरुण दल स्थापना गरेका थिए। तत्कालीन प्रधानमन्त्री कोइराला २०१७ पुस १ गते तरुण दलकै कार्यक्रममा व्यस्त रहेका बेला तत्कालीन राजा महेन्द्रबाट सैन्य शक्तिको आडमा ‘कू’ गरी कोइरालालाई पक्राउ गरी पञ्चायती शासन व्यवस्थाको सूत्रपात भएको थियो।