काठमाण्डु – अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान बस्नेहरू २२ वर्षीय अनक राई, ३२ वर्षीय अविजल थापा तथा २२ वर्षीय मोहन राई र भोजपुर आमचोक बस्ने २२ वर्षीय विशन राई छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले को३९प १७४५ नम्बरको स्कुटरमा सवार अनक राई र विशन राईलाई १ ग्राम ६० मिलिग्राम तथा को३२प ५४२६ नम्बरको मोटरसाइकलमा सवार अविजल थापा र मोहन राईलाई १ ग्राम २४० मिलिग्राम लागूपदार्थसहित पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब १३ किलोसहित सहिदभूमि गाउँपालिका–१ घर बताउने २४ वर्षीय अनिल कटुवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०६–००१ प ००८३ नम्बरको मोटरसाइकलमा सवार कटुवाललाई गाँजासहित पक्राउ गरेको छ ।
बर्दियाको मधुवन नगरपालिका–७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ११० मिलिग्रामसहित सोही नगरपालिका–५ गाउँ नम्बर ११ बस्ने २९ वर्षीय रमेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २१ मिलिग्रामसहित कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–१५ सुकुम्बासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर ३४० मिलिग्रामसहित मेचीनगर नगरपालिका–१५ भागागोला बस्ने २६ वर्षीय पर्वत राजबंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–८ बाट अवैध लागूऔषध १ ग्रामसहित स्थानीय ३९ वर्षीय सरोज गहतराजलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लागूपदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।
झापाको गौरीगंज गाउँपालिका–४ बारासुतिबाट अवैध लागूऔषध ब्राउनसुगर ५१० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–१ बस्ने १९ वर्षीय लुखिराम बास्की र २३ वर्षीय योगेश राजबंशी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय खजुरगाछीबाट खटिएको प्रहरी टोलीले भारतबाट गौरीगञ्जतर्फ आउँदै गरेको को१७प ४८५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब ५ किलोसहित कैलाश गाउँपालिका–१० बस्ने ४० वर्षीय पाल्साङ मोक्तानलाई बुधबार बिहान प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ५२६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।
बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया