सफाइ पाएपछि सदस्य सचिवको घोषणा : पशुपति आर्यघाटको विद्युत् शवदाह निःशुल्क

सफाइ पाएपछि सदस्य सचिवको घोषणा : पशुपति आर्यघाटको विद्युत् शवदाह निःशुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने घोषणा गरेका छन् ।

पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका सदस्य सचिव डा. थापाले मंगलबार विशेष अदालतबाट सफाइ पाएपछि बुधबार पुनः कार्यभार ग्रहण गरेका छन् ।

उनले निम्न आय भएका तथा गरीब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको बताए ।

‘आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । सो शवदाहलाई निःशुल्क गर्ने विषयमा यसअघि पनि हामीले पहल गर्दै आएका थियौं । अब आगामी साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क गर्छौं,’ उनले भने ।

सदस्य सचिव डा. थापाले सेतो सत्तल गुहेश्वरीमा धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय पनि भएको जानकारी दिए ।

विशेष अदालतले मंगलबार सदस्य सचिव डा. थापासहित डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक्रम संवत् २०८० असोज १४ गते उनीहरू तीनै जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।