काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपतिले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताएका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ रहेको भन्दै उनले नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको बताए ।
“प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुन्छ । यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ,” राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, यो समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि हो ।
प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने तथा त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नु सबैको जिम्मेवारी भएको राष्ट्रपति पौडेलको भनाइ छ ।
सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्दै उनले बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुने बताएका छन् ।




प्रतिक्रिया