कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दैलेखको नारायण नगरपालिका–९ घर भई काठमाण्डुको तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका–८ घर भई काठमाण्डुको टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाण्डु महानगरपालिका–६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको छ ।

उनीहरूले यूएई दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्‍याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।