काठमाण्डु–एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा हुने पहिलो राष्ट्रिय महिला भेलाको तयारी पुरा भएको छ । जेठ १६ र १७ काठमाडौंमा महिला भेलाको आयोजना हुँदैछ ।
भेला आयोजनाका विषयमा गरिएको पत्रकार सम्मेलनमा एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहने जानकारी दिए ।
२०६३ साल जेठ १६ गते एमालेका तत्कालीन उपाध्यक्ष एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । संसदको यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आइरहेको छ ।
‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं,’ पत्रकार सम्मेलनमा ढकालले भने, ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने छ,’उनले भने।
भेलाको उद्घाटन जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । भेलामा करिब पाँच हजार महिलाको सहभागिता रहने जनाइएको छ ।
भेलाको दोस्रो दिन १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल हुनेछ । समूह प्रस्तुतिपछि भेलाका निश्कर्षहरू सार्वजनिक गरिने छ । समापन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा हुनेछ ।




प्रतिक्रिया