काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराका युवराज सम्राले ४८ बलमा १०२ रन बनाए। उनले १० चौका र ६ छक्का प्रहार गरे।
कुशल भुर्तेलले ३९ बलमा ६२ रन बनाए भने कप्तान चमिका करुणारत्नेले ११ बलमै अविजित ३५ रन जोडे। सुनिल बीके ३ रनमा नटआउट रहे।
कर्णालीका सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। मार्क वाटले एक विकेट हात पारे।
चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ। पोखरा भने खेलेका चारै खेलमा पराजित भएको छ। कर्णालीविरुद्धको खेलमा पहिलो जित निकाल्दै प्रतियोगितामा खाता खोल्ने लक्ष्यमा पोखरा छ।


प्रतिक्रिया