नयाँदिल्ली- दीपावलीपछि सोमबार बिहान दिल्ली-एनसीआरको वायु गुणस्तर ‘गम्भीर’ श्रेणीमा पुगेको छ। आइतबार राति व्यापक रूपमा पटाका पड्काइएपछि सोमबार बिहान राजधानी क्षेत्रका धेरै ठाउँमा दृश्यता पनि निकै कम भएको थियो।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीको पटपडगञ्जमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४१८, आईटीओमा ४०६, राजीव चोकमा ३८१ र साउथ एक्सटेन्सन आसपास ३६० मापन गरिएको छ।
उत्तरप्रदेशका नोएडा, गाजियाबाद, कानपुर र वाराणसीसहित १० सहरको वायु गुणस्तर सोमबार खतरनाक स्तरमा पुगेको थियो। बिहान ७ बजे प्रयागराज, गोरखपुर र लखनउको एक्यूआई ५०० नाघेको खबर छ।
उत्तरप्रदेशमा चिसो र कुहिरो बढ्यो
उत्तरप्रदेशमा चिसो र कुहिरोको प्रभाव पनि देखिन थालेको छ। १५ भन्दा बढी सहरमा बाक्लो कुहिरो लागेको थियो। रातिको तापक्रम १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ।
मध्यप्रदेशमा पनि चिसो बढिरहेको छ। आइतबार राति भोपाल र इन्दौरसहित १४ सहरमा तापक्रम १४ डिग्री सेल्सियसभन्दा कम मापन गरिएको थियो।
राजस्थानमा तापक्रम ३८ डिग्री नाघ्यो
यसको विपरीत, राजस्थानका सहरमा आइतबार दिनको तापक्रम सामान्यभन्दा बढी रह्यो। बाडमेरमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। पछिल्लो १० वर्षमा बाडमेरको तापक्रम ३८ डिग्रीभन्दा माथि पुगेको यो दोस्रोपटक हो।


प्रतिक्रिया