सांसद बस्नेतलाई राप्रपाको निर्देशन–अदालतमा उपस्थित हुनू

सांसद बस्नेतलाई राप्रपाको निर्देशन–अदालतमा उपस्थित हुनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले सहकारी घोटाला प्रकरणमा मुछिएकी सांसद बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न बैठकले निर्देशन गरेको हो ।

बैठकले अन्य सहकारी घोटाला प्रकरणको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ । ‘पार्टीकी सांसद गीता बस्नेतमाथि नवलपरासीस्थित छिपछिपे सहकारीबाट उहाँसमेत सञ्चालक रहेको कृष्णसार रिसोर्टमा रकम गएको सन्दर्भमा उहाँमाथि प्रहरीले मुद्दा चलाएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ’, बैठक पछि अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको छ ।

बैठकले पुन अदालतमा उपस्थित भएर कानुन बमोजिम सफाइ लिन निर्देशन दिएको छ । बैठकले अध्यक्षबाट प्रस्तुत राजनीतिक कार्यपत्र, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

राप्रपाले सरकारलाई बुझाएका विभिन्न ४० बुँदे माग पत्र सम्बोधन नगरेको भन्दै पुन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । त्यस्तै सुशासन र दीर्घकालीन माग र मुद्दामा सहकार्य गर्न सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने पनि राप्रपाले जनाएको छ ।

बैठकले आगामी २०८२ वैशाखभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सहकारी छानबिननबारे प्रतिपक्षको माग बेवास्ता गर्दै संसद् चलाएकोमा संसदीय मूल्य मान्यता विपरीत भएको ठहर पनि राप्रपाले गरेको छ ।