काठमाण्डु – सर्वोच्च अदालतले आफ्नो पक्षमा परमादेश दिएपछि नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा आफू नेतृत्वको सरकार बनाउने कसरत सुरु गरेका छन् । सर्वोच्चले सोमबार खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३ बजे बोलाइएको सांसद दोर्ण कुवरले जानकारी दिए । बैठकले आगामी रणनीतिदेखि मन्त्री चयनसम्मका विषय टुंग्याउने छ ।
नेता पाण्डेले साँझसम्म मुख्यमन्त्रीको शपथ लिने तयारी छ । त्यहीँ तयारी अनुरुप उनी काठमाडौँबाट पोखरा जाँदैछन् ।
नीति तथा कार्यक्रम अनि बजेट बनाउनुपर्ने भएकाले तत्काल अर्थमन्त्री नियुक्त गर्ने उनले तयारी गरेका निकटस्थ नेताहरूले बताउँछन् ।
संविधानको धारा १६८ को उपधारा ३ अर्थात् ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्ने उनले मुख्यमन्त्री बनेको एक महिनाभित्र बहुमत जुटाउनु पर्ने हुन्छ ।
कांग्रेससँग २७ जना सांसद मात्र छन्। ६० सदस्यीय संसद्मा बहुमत जुटाउन थप ४ सांसदको समर्थन खोज्नुपर्नेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग २ जना सांसद छन् । स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गर्दा पनि ३१ पुग्दैन। त्यस्तोमा माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको समर्थन कांग्रेसलाई अपरिहार्य छ। कांग्रेस अहिले त्यसैको तयारीमा लागेको एक नेताले बताए ।
पाण्डेले आजै राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङ तथा दीपक मनाङेलाई मन्त्रीको शपथ खुवाउने तयारी गरिरहेका छन् ।




प्रतिक्रिया