टुँडिखेलबाट प्रधानमन्त्रीले भने- ०८७ सम्म विकसित राष्ट्रको स्तरमा पुग्ने अभियान जारी छ

टुँडिखेलबाट प्रधानमन्त्रीले भने- ०८७ सम्म विकसित राष्ट्रको स्तरमा पुग्ने अभियान जारी छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मंगलबार राष्ट्रिय दिवस मनाइएको छ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए ।

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका-संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

गणतन्त्र स्थापना भएको जेठ १५ गते देशभर राष्ट्रिय दिवस रुपमा मनाइने गरिन्छ । यसैबीच आज पनि गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सम्बोधन गरेका छन् ।

टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताए ।

‘गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै । यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकामी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर गरिएको सामूहिक प्रयास थियो । हाम्रो सामूहिक प्रयास र सहकार्यमार्फत राजनीतिक व्यवस्था परिवर्तन गर्यौँ र एकात्मक वंशवादी सामन्ती राज्यसत्ता अन्त्य गरी सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल बन्यौँ ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

नागरिक आवश्यकता र चाहनाको परिपूर्ति गर्दै मुलुकलाई आर्थिक-सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाइ जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको उनले दाबी गरे ।

‘संवत् २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्यसहित विकसित राष्ट्रको स्तरमा पुग्ने अभियान जारी छ,’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए ।

‘संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्‍न गरेका छौँ । शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्‍क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्‍न गर्न सरकार दृढ छ,’  उनले भने ।

उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्‍वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले सशस्‍त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्‍गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनःस्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए ।

विश्‍वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त, मान्यता र नेपाली समाजको विशेषता अनुकूलका चरित्रसहितको सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्‍ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्‍न निर्वाचनले मुलुकमा सङ्‍घीय शासन प्रणालीलाई सुदृढ बनाएको स्पष्ट पारे ।

उनले आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकारहरू नागरिकको हित र उन्‍नतीका लागि क्रियाशील रहेको बताए ।

‘राष्‍ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्‍ट्रिय आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ । नेपाली जनताको सुख र समुन्‍नतिका लागि सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा आशा र भरोसा जगाउने गरी सरकारले कार्य गरिरहेको छ,’  प्रधानमन्त्री प्रचण्डले भने ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीगण,  कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले गणतन्त्र दिवस-२०८१ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरेको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले मार्चपास गरेका थिए भने नेपालको कला र संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।