काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्ने तयारी गरेका छन् । केही समयमै नै त्यो निर्णय गर्ने तयारी रहेको निकटस्थ स्रोतले जानकारी दियो ।
सभापति देउवा केही दिनदेखि विरामी छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण आज बसेको संसदीय दलको बैठकको सभापतित्व पनि राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौलाले गरेका थिए भने संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि भइरहेको छलफलमा शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने भनिएको बैठकमा पनि देउवा आउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।
कार्यवाहक सभापति दिने विषयमा कांग्रेसभित्रको उनको टिममा भने कुरा मिल्न सकेको छैन । प्रवक्ता प्रकाशशरण महत, प्रतिनिधि सभामा प्रमुख सचेतक रमेश लेखक, वीरबहादुर बलायरलगायत उपसभापति खड्कालाई कार्यवाहक सभापति दिन हुन्न भन्ने पक्षमा खुलेर लागेका छन् । देउवा पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा देउवा पनि खड्कालाई दिन नहुने पक्षमा छिन् ।
यता महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियालगायत खड्कालाई बनाउनुपर्छ भनेर लागिरहेका छन् ।
संसदीय दलको नेता परिवर्तन गर्ने भनेर चर्चा परिचर्चा भइरहेको बेलामा देउवाले कार्यवाहक सभापति दिन लागेका बताइन्छ । नेता शेखर कोइरालाले संसदीय दलको नेता परिवर्तन गरेर आफू बन्ने प्रयास गरिरहेका छन् ।
देउवाको सचिवालयले भने कार्यवाहक दिन लागिएको भन्ने विषयको खण्डन गरेको छ । सचिवालयका एक सदस्यले भने, ‘आज खुट्टा सड्किएर संसदीय दलको बैठकमा जान नसक्नु भएको हो । कार्यवाहक दिने विषयमा कुनै कुराकानी नै भएको छैन । हुने कुरा पनि छैन । यो कार्यकालभर उहाँले नै चलाउनुहुन्छ ।’
कांग्रेस विधानमा वरिष्ठ उपसभापतिलाई कार्यवाहक सभापति तोक्न सक्ने प्रावधान छ ।




प्रतिक्रिया