काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विवादमा परेकाहरूलाई संरक्षण गर्न थालेका छन् ।
बुधबार उपप्रधान मन्त्रीस्तरीय निर्णयमा भएको सहसचिवस्तरका कर्मचारीहरूलाई प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका अन्य विभागमा सरुवा गर्दा तथा नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक (डिआइजीपी)हरूलाई नयाँ जिम्मेवारीमा खटाउँदा केही विवादितलाई आकर्षक जिम्मेवारी दिएका हुन् ।
मन्त्रालय मातहतका निकायमा रहेका सहसचिवस्तरका कर्मचारीहरूको सरुवा मन्त्रीस्तरीय निर्णयबाट गर्ने प्रावधानअनुरुप लामिछानेले सरुवा गरेका हुन् । प्रहरीको डिआइजीपी पनि सहसचिवस्तरको पद हो ।
लामिछानेले बुधबार २५ सहसचिव र तीन डिआइजीपीको सरुवा गरेका थिए । ती मध्य गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाइएका सहसचिव गोगनबहादुर हमाल र नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएका अरुण पोखरेल विवादित सहसचिव हुन् । त्यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रमुख बनाइएका डिआइजीपी अर्जुन चन्द ठकुरी पनि विवादित प्रहरी अफिसर हुन् ।
सहसचिव हमाल र डिआइजीपी ठकुरीको विवाद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबीच विवाद भएर कुटाकुटसम्म भएको घटनाको हो भने पोखरेल अर्थ मन्त्रालय अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल भन्सार कार्यालय प्रमुख हुँदा १०० किलो सुन र इलेक्टिक सिगरेट (भेप)मा सुन विमानस्थलबाट भित्रिएको थियो । त्यो घटना हुने बेलामा पोखरेल बिदामा भएको बयान दिएका थिए । तर, कार्यालय प्रमुख भएको नाताले उनलाई जिम्मेवारी खोसेर मन्त्रालयमा फिर्ता बोलाइएको थियो ।
सहसचिव पोखरेलले विदामा भएको बताए पनि यी घटना उनी विमानस्थल भन्सार कार्यालय प्रमुख भएको बेला भएपछि हटाएको थियो । त्यसपछि अर्थ मन्त्रालयमा केही समय जगेडामा बसेका पोखरेललाई गृहमन्त्रालय अन्तर्गत सरुवा गरिएको थियो ।
गृहमा उनलाई जगेडामा राखिएको थियो । अहिले लामिछानेले पोखरेललाई सुनपानी छर्किदै तराईको राम्रो जिल्ला मानिने नवलपरासीपूर्वमा प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् । उनी प्रमुख हुँदा भएको सुन काण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरासहितका भन्सारका कर्मचारी र ल्याउनेहरू मुछिएका छन् । केही त अहिले पनि पुर्पक्षका लागि थुनामा छन् ।
अर्का सहसचिव हमाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख हुँदा १२ असारमा विमानस्थल कार्यालयमै प्रहरी र कर्मचारीबीच कुटपिट भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच कुटाकुट भएको विषयमा अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठबन भएर प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा कुटपिटमा संलग्न अध्यागमन अधिकृत छायालाल मुक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । उनलाई कुटपिट गर्ने असई सञ्जय तामाङलाई पनि निलम्बन गरेर विभागीय कारबाही गर्न सिफारिस भएको छ । त्यसअनुरुप कारबाही पनि भइसकेको छ ।
प्रहरी जवान रविरञ्जन गुप्तालाई पनि विभागीय कारबाही गरिएको छ । डिएसपी रेवती रमन पोखरेलले आफ्नो कार्य क्षेत्रमा कमान्ड सम्हाल्न नसकेको भन्दै लिखित रुपमा सचेत गराइएको छ ।
तर, त्यसबेला कर्मचारीतर्फ र प्रहरीतर्फ प्रमुख रहेका दुवैले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पुरस्कार पाएका छन् ।
त्यही घटना हुँदा प्रहरीतर्फको प्रमुख थिए डिआइजीपी अजुर्न चन्द ठकुरी । उनलाई पनि सरुवा गरेर कर्णाली प्रदेश कार्यालय प्रमुख बनाइएको छ । विमानस्थलमा उनी सुरक्षा प्रमुख हुँदा अध्यागमन विभागका कर्मचारी र प्रहरीको भएको विवाद छानबिन गर्न बनेको समितिले प्रहरी नेतृत्व (डिआइजीपी ठकुरी)माथि पनि प्रश्न उठाएको थियो ।
ठकुरीले गत माघमा आफू मातहतका प्रहरीलाई कारबाही सिफारिस भएपछि असन्तुष्ट भएको नाटक गर्दै राजीनामा समेत बुझाएका थिए । उनको राजीनामालाई किन नाटक भनेको भने राजीनामापछि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितका उच्च अधिकारीहरूले फिर्ता लिन भनेपछि राजीनामा फिर्ता लिइहाले ।
त्यसपछि उनलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । माघ अन्तिममा प्रदेश समन्वय विभागमा सरुवा भएका चन्दले चार महिना नहुँदै गृहमन्त्रीको आर्शिवाद पाएर कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाए ।




प्रतिक्रिया