काठमाण्डु- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णयको विरोध गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले भने, ‘ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउनु कानुनविपरीत हो ।’ उनले उक्त निर्णयलाई गृहमन्त्रीको हुकुमी शासनको संज्ञा दिए ।
‘मापसे गरेकालाई बिहान सडकमा ल्याएर उभ्याउनु कुन कानुन र नियममा छ भन्दै उनले प्रश्न गरे । ‘गृहमन्त्रालयले कुनै नियमावलीअन्तर्गत प्रहरीलाई पठाएको छ कि ? त्यो पत्राचार भएको छ कि ?’ उनले प्रश्न गर्दै भने, ‘यसरी मुलुक चलाउने शासन पद्धतिको अन्त्य गर्न लागेका मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी विरुद्धमा छौं । कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानुनअनुसार मुलुकलाई अगाडि बढाउनुपर्छ ।’
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउने कार्य तुरुन्त बन्द गराउन उनले माग गरे ।




प्रतिक्रिया