काठमाण्डु- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न माग गरेका छन् ।
संसद बैठकमा नेपाल कम्युनिष्ट (एमाले)का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन गर्न माग गरे ।
एमालेका मानवीर राईले सोलुखुम्बुमा बाढी, पहिरो र हिमपहिरोको जोखिम भएकाले रोकथामको पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई आग्रह गरे।
नेकपा एमालेकै मनबहादुर गुरुङले हुरी र वर्षाबाट कास्कीको रुपा गाउँमा भएको क्षति भएको र पीडितलाई सघाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका माधव सापकोटाले वर्षायाम सुरु हुन लागेकाले तातोपानी नाका स्तरोन्नतिका लागि चीनसँग भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसका रामहरि खतिवडाले मध्यपहाडी राजमार्गको घुर्मी पुल वर्षायाम प्रारम्भ हुनुअघि बनाउन माग गरे । माओवादी केन्द्रकी मीना तामाङले काठमाण्डु विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य टुट्न नहुनेमा जोड दिइन्।
एमालेकी मेनुकाकुमारी पोखरेलले दाङको आगलागीबाट क्षति भएकाहरुलाई क्षतिपूर्ति दिन माग गरेकी छन् ।




प्रतिक्रिया