काठमाण्डु – नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
एकीकृत समाजवादी केन्द्रले मधेश सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार एकीकृत समाजवादीले मधेश सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको छ । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेश प्रदेश संसदीय दलको बैठक बोलाइएको छ ।
केन्द्रबाट नयाँ समीकरणअनुसार सरकार बनाउन निर्देशन गएपछि पार्टीको संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तयारी गरेको छ ।
एकीकृत समाजवादीबाट मधेश सरकारमा संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुंगेली गरी २ जना मन्त्री छन् । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेश सरकारबाट बाहिरिएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ ।




प्रतिक्रिया