काठमाण्डु–हमासका लडाकूहरूले इजराइलमाथि आक्रमण गरी दुई सय ५१ मानिसलाई बन्धक बनाएको आठ महिना भइसकेको छ । गाजामा अझै पनि एक सय २० जनालाई हमासले बन्धक बनाएर राखेका छन् । त्यस मध्ये एक जना नेपालका विपीन जोशी पनि छन् । यद्यपि हमासको बन्धकमा रहेका कति अझै जीवित छन् भन्ने स्पष्ट छैन ।
गत असोज २० मा हमासको आतंकवादी आक्रमणबाट १० नेपाली युवासहित १ हजार १ सय ३९ जनाको इजरायलमा मृत्यु भएको थियो । त्यसै क्रममा हमास लडाकुले इजरायली र विदेशी गरी २ सय ५१ लाई बन्दी बनाएर लगेका थिए ।
‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न प्यालेस्टिनी क्षेत्रमा ल्याउँदा दुई सय ५१ मध्ये केही पहिला नै मरिसकेका थिए । हमासले एक सय १२ बन्धकलाई जीवितै रिहा गरिएको छ ।
इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो ।
इजराइली सेनाले हमास लडाकू सम्झेर मारेका तीन बन्धकसहित १९ मृत बन्धकको शवलाई इजराइलले फिर्ता गरेको छ ।
इजराइली सेनाका अनुसार गाजामा पछिल्लो समय ४१ बन्धक मारिएका छन् । तीमध्ये अक्टोबर ७ को आक्रमणमा मारिएका २५ मानिस संलग्न छन् । उनीहरूको शवलाई ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न गाजा पट्टी लगिएको इजराइलको भनाइ छ ।
यसले गाजामा अझै पनि ७९ बन्धक जीवित रहेको हुनसक्ने देखिन्छ । ती मध्ये ७२ इजराइली, ६ थाई नागरिक र एक नेपाली छन् । ती नेपाली विपीन जोशी हुन् ।
हमासले विपिन जोशीलाई बन्धक बनाएको ८ महिना बित्दासमेत उनको अवस्थाबारे कसैलाई अतोपतो छैन ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका हुन् । उनी रहेकै इजरायलको दक्षिणी क्षेत्रमा हमासले असोज २० मा अप्रत्याशित हमला गरेको थियो । उक्त हमलामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । विपिनलाई भने हमासले बन्धक बनाएर लगेको थियो । हमासले उनको अवस्थाबारे केही खुलाएको छैन
विपिनका परिवारका सदस्यहरूका अनुसार सरकारका तर्फबाट उनीबारे हालसम्म कुनै प्रष्ट जानकारी आएको छैन । आफ्नो छोरा विपिनलाई मुक्त गर्न बुबा महानन्द र आमा पद्माले सिंहदरबार, शीतलनिवास र परराष्ट्र मन्त्रालय धाइसकेका छन् । तर नेपाल सरकार अहिलेसम्म उनको अवस्थाबारे बेखबर छ ।
यद्यपी सरकारले विपिनको सकुशल रिहाइ र उनको अवस्थाबारे बुझ्न पहल गरिरहेको दाबी गरे पनि अहिलेसम्म केही जानकारी आएको छैन । हमासको नियन्त्रणमा रहेकाहरूको रिहाइको पहल गर्न इजरायल सरकारलाई देशभित्र र अन्तर्राष्ट्रिय समुदायबाट समेत चर्को दबाब छ ।
अहिले अन्य मुलुकका बन्दीलाई पनि हमासले छाडेको छैन । जोशीलाई छुटाउन नेपाल सरकारबाट बढी कूटनीतिक प्रयास हुनुपर्ने विज्ञहरूको धारणा छ ।
गत वैशाख ११ र १२ मा कतारका अमिर शेख तमिम बिल हमाद अल थानीले नेपाल भ्रमण गर्दा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जोशीलाई हमास समूहबाट रिहाइ गर्नका लागि पहल गरिदिन आग्रह गरेका थिए । तर उक्त आग्रहको हालसम्म कुनै नतिजा आएको छैन । नेपाल सरकारले पनि त्यसपछि खोजबिन गरेको छैन ।
हमासको अप्रत्याशित हमलापछि युद्धग्रस्त क्षेत्रबाट नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेका थिए ।




प्रतिक्रिया