बजेटमाथि गगनको टिप्पणी – आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आधार देखिएन

बजेटमाथि गगनको टिप्पणी – आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आधार देखिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १५ जेठमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा थापाले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे ।

‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ, तर केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो ?,’ महामन्त्री थापाले भने ।

बजारमा मागको कमी भएको र आर्थिक अवस्था संकटमा रहेको उल्लेख गर्दै सांसद थापाले यसले आर्थिक वृद्धिमा चुनौती थपिने बताए । ‘हाम्रो खर्च बढिरहेको छ, मध्यम वर्गीय व्यक्ति उच्च करको मारमा परिरहेका छन्, कुनै नयाँ क्षेत्रमा लगानी गर्दा कर बढी तिर्नुपर्दा बैंकमा नै रकम थुप्रिएको छ,’ उनले भने, ‘आर्थिक संकट भइरहेको छ । सामान्य करका दर बढाउँदैमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन ।’

पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको सांसद थापाको भनाइ छ । खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘आगामी आर्थिक वर्षमा सिक्टा आयोजनाका लागि तीन अर्ब रकम माग भएकामा एक अर्ब ६० करोड विनियोजन भएको छ, अव यो आयोजना बन्न वषैँ लाग्छ,’ थापाले भने, ‘सिँचाइ आयोजनामा लगानी घटाएर कृषि दशकको लक्ष्य हासिल गर्न सकिँदैन ।”