काठमाण्डु– स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध वर्तमान नगर प्रमुख वैकुण्ठ न्यौपाने सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि नगर प्रमुख न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ ।
सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार पुनःमतगणना रोक्न उनले माग गरेका छन् ।
जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकामा पुनःमतगणना गर्न फैसला गरेको थियो ।
उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै न्यौपाने सर्वोच्च पुगेका हुन् ।
एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले धाँधली भएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हालेका थिए । मुद्दा दर्ता भएको दुई वर्षमा मात्रै उच्च अदालतले यस्तो फैसला गरेको थियो ।
जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । तनहुँबाट शिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी थियो ।
निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ ।




प्रतिक्रिया