काठमाण्डु – काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता लिमिटेडको १० रोपनी जग्गा नीजिकरण गरेको घटनाको अनुसन्धान अझै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा दर्ता गरेको छैन ।
सिआईबीले अझै पनि प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएकालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ पूर्जीका लागि अनुमति माग्दैछ । यो प्रकरणको अनुसन्धानमा खटिएका सिआईबीका एक प्रहरी अधिकृतले बिहीबार पनि एक जनाविरुद्ध पक्राउ पूर्जी मागेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा पत्र पठाइएको जानकारी दिए ।
बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणको अध्ययन गर्दा अहिले अमेरिकामा रहेकी महिलाको पनि संलग्नता देखिएकाले थप अनुसन्धानका लागि पक्राउ पूर्जी मागेर जिल्ला अदालतमा पत्र पठाइएको हो । अदालतबाट पक्राउका लागि अनुमति प्राप्त भएको पनि ती अधिकृतले जानकारी दिए ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बाँसबारी छालाजुत्ताको जग्गा नीजिकरणसम्बन्धी फाइल अझै अनुसन्धानकै क्रममा रहेको जानकारी दिए । ‘बाँसबारी छालाजुत्तासम्बन्धी फाइल अझै अनुसन्धानको क्रममा छ । बुझाउन लागिएको हल्ला चलाइएको मात्रै हो,’ प्रवक्ता बोगटीले काठमाण्डुपाटीसँग भने, ‘अब हामी कन्क्लुजनको क्रममा छौँ । समय लाग्छ । कन्क्लुजनको क्रममा नयाँ क्लु भेटियो भने थप अनुसन्धान गर्ने पनि हुन सक्छ ।’ अनुसन्धान नरोकिएको निरन्तर भइरहेको उनले बताए ।
यस प्रकरणमा सिजी कम्पनीका अध्यक्ष, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि जोडिएका छन् । १० रोपनी जग्गा निजी बनाएको आरोपमा सिआईबीले गरिरहेको अनुसन्धानमा अर्बपति चौधरी सिआईबी कार्यालयमा पुगेर तीन घण्टा बयान दिएका थिए । बयानका क्रममा अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको उपस्थितिमा चौधरीलाई ४० प्रश्न सोधेका थिए ।
बाँसबारीस्थित सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा सरकारी निर्णयविनै चौधरी ग्रुपको लगानी रहेको च्याम्पियन फुटवयरको नाममा दिइएको थियो । बाँसबारी छालाजुत्ता लिमिटेडले चौधरी ग्रुपको लगानीमा स्थापित च्याम्पियन फुटवयरमा २५ प्रतिशत सेयर लगानी बापत १० रोपनी जग्गा दिएको थियो ।
सरकारी जग्गा निजी कम्पनीलाई दिने निर्णय छालाजुत्ता लिमिटेडको सञ्चालक समितिले मात्रै गरेको थियो । तत्कालीन सरकारले गरेको थिएन । बाँसबारी छालाजुत्ता लिमिटेडमा विनोद चौधरीको तत्कालीन अवस्थामा २ सय कित्ता सेयर देखिएकाले उनीमाथि अनुसन्धान भइरहेको प्रहरी बताउँछ । अनुसन्धान अधिकृतहरूका अनुसार चौधरी दोषी हुने प्रयाप्त प्रमाणहरू फेला परेका छन् ।
सरकारी जग्गा ठगी र किर्ते जस्तो फौजदारी कसुरमा मुलुकको पहिलो डलर अर्बपतिको छवि बनाएका चौधरी मुछिएका हुन् ।
जुत्ता उद्योगका लागि लिइएको जग्गामा अहिले चाँदबाग रेसिडेन्स छ । त्यो अहिले विनोदका भाइ अरुणको नाममा छ । एउटा प्रयोजनका लागि सरकारबाट लिएको जग्गा निजीकरण गर्दै अर्को व्यवसाय चलाएको आरोपमा गत माघ १९ गते सीआईबीले अरुण चौधरीसहित बाँसबारी छालाजुत्ता लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेजिडेन्ट सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाईसमेत पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
तर, अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि तीनै जना छुटिसकेका छन् । विनोदकै अर्का भाइ वसन्त चौधरी र भिनाजु महेश अग्रवालसँग पनि सीआईबीले कागज गराएको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतहरूले यस प्रकरणमा गल्ती गरेका यथेष्ट प्रमाणहरू फेला परेकाले मुद्दा चल्ने बताएपछि अहिले चौधरी बच्नलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्र धाइरहेका छन् । उनी सिआईबीमा बयान दिएपछि लामो समय दक्षिणी छिमेकी मुलुक भारत र सिंगापुरमा बसेर आफ्नो मुद्दा मिलाउन शक्ति केन्द्रहरूसँग हारगुहार गरेर फर्केका छन् ।
सिआईबीमा बयान दिएपछि लामो समय दक्षिणी छिमेकी मुलुक भारत र सिंगापुरमा बसेर आफ्नो मुद्दा मिलाउन शक्ति केन्द्रहरूसँग हारगुहार गरेर फर्केका छन् ।
मुलुककै प्रतिष्ठित व्यावसायिक घरानामाथि यती ठूलो आरोप लागेपछि आफ्नो प्रतिष्ठा खत्तम हुने डरले सकेजति शक्ति मुद्दा कमजोर गराउन अहिले चौधरीले खर्च गरिरहेको जानकारहरू बताउँछन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूलाई पनि चौधरीले विभिन्न प्रलोभनमा पार्ने प्रयास गरिरहेको बताइन्छ ।
यस सम्बन्धमा चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
सिआईबीले सरकारी जग्गा निजी बनाउन भूमिका खेल्ने बासबारी छालाजुत्ता लिमिटेडकै तत्कालीन सञ्चालक समितिका अन्य सदस्य, सरकारी जमिन निजी बनाउन भूमिका खेल्ने मालपोतका कर्मचारीदेखि कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी माथि अनुसन्धान सकेर मुद्दा दर्ता गरिने बताएको छ ।




प्रतिक्रिया