काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईको वी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्रमा सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
बिहीबार सार्वजनिक भएको सर्वोच्चको फैसलाको पूर्णपाठमा निरीक्षण टोलीले औंल्याएका मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन र तोकिएका कार्यहरु पुरा गर्न लगाई १५ दिन भित्रमा यस वर्षको शैक्षिक शत्र सुरु हुनु अगावै एमवीवीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिलाउन आदेश दिइएको हो ।
न्यायाधीश डा. कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासले प्रसाईंको माग बमोजिमको सम्बन्धन नदिने गरी २०७६ चैत ३ गते चिकित्सा शिक्षा आयोगबाट भएको निर्णय कानुन संगत नदेखिएको भन्दै उत्प्रेषणको आदेशले बदर गरिदिएको छ। चिकित्सा क्षेत्र सुधारका बहानामा वर्षौदेखि ठूलो धनराशी लगानी गरी सम्बन्धनका लागि लागेको संस्थालाई निषेध गर्न नहुने आदेशमा उल्लेख छ ।
‘मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाई १५ (पन्ध्र) दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरू हुनुअगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू/ दिलाउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर लगायतका प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।’, फैसलाको पूर्णपाठमा भनिएको छ ।
आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाण्डु विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।




प्रतिक्रिया