काठमाण्डु – मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्नु अगावै दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । बिहान सत्तारुढ ६ दलहरूको गठबन्धनबाट जनमत पार्टीका सतिश सिंहले मुख्यमन्त्रीमा प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेस गरेका छन् ।
दाबी पेस गर्नु अघि नै एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच कति र कुन–कुन मन्त्रालय कुन दलले पाउने भन्ने सहमति भइसकेको छ ।
६ दलहरुमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ र नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एक/एक मन्त्रालय भागबन्डा गरिएको छ ।
एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय पाउने छ भने माओवादीले अर्थ र पर्यटन मन्त्रालय पाएको छ । जनमतलाई मुख्यमन्त्रीसहित वन मन्त्रालय दिने सहमति दलहरूबीच छ । एकीकृत समाजवादीको भागमा ऊर्जा र कृषि मन्त्रालय परेको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा रोजगार र नेपाल संघीय समाजवादीलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए ।
बुधबारको सदनबाट मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन सकेका थिएनन् । त्यसपछि प्रदेश प्रमुख भण्डारीले आज बिहान १० बजेसम्म नयाँ सरकार बनाउने दाबी पेस गर्न समय दिएकी थिइन् ।
सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसतिह दाबी पेस भएसँगै आजै मुख्यमन्त्रीसहित सबै मन्त्रीहरूले शपथ पनि लिनेछन् ।
प्रदेश प्रमुख भण्डारीले गठबन्धनको दाबी बमोजिम आजै जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेर पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।




प्रतिक्रिया