मोटरसाइकल सो रूमको मालिकदेखि मुख्यमन्त्रीसम्म

मोटरसाइकल सो रूमको मालिकदेखि मुख्यमन्त्रीसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनमत पार्टीका तर्फबाट मधेस प्रदेश सभा सदस्य सतिश कुमार सिंह मधेशको मुख्यमन्त्री नियुक्त भएका छन् । धेरैलाई चकित पार्दै उनी मुख्यमन्त्रीको उम्मेदवार पार्टी बैठकबाट सर्वसम्मत भए र मुख्यमन्त्री नियुक्त भए ।

मधेशको तेस्रो मुख्यमन्त्री बनेका सिंह २०७९ को आम निर्वाचनमा पनि मधेस प्रदेशसभा सदस्यमा अप्रत्याशित रूपमै जितेका थिए । जसरी प्रदेशसभामा उनको जित अप्रत्यासित थियो, त्यसरी नै शुक्रबार मधेशको मुख्यमन्त्री पदमा नियुक्ति पनि उनको जीवनको अर्को अप्रत्यासित घटना नै हो ।

राजनीतिमा धेरै सक्रिय नभएका सिंह आठ वर्षमा तीन पार्टीमा चाहारे । राजनीतिमा लागेको आठ वर्षमा उनी तीन पार्टीको नेता बनेका हुन् । स्थानीय र प्रदेशगरी दुई पटक चुनाव जिते । र, अहिले मधेश प्रदेशको मुख्यमन्त्री बने । सतिश २०७९ भदौ ९ गते अध्यक्ष सिके राउतकै हातबाट टीका थापेर जनमत प्रवेश गरेका थिए ।

२०७३ सालमा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा आवद्ध भए र जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि राष्ट्रिय जनता पार्टीमा गएका सिंह २०७९ मात्रै जनमतमा प्रवेश गरेका थिए ।

राजनीतिमा लाग्नु अघि सतीश राजविराजमा हिरो मोटरसाइकल र महिन्द्रा गाडीको आधिकारिक बिक्रेता थिए ।

सतिशका बुबा शेखरकुमार सिंह पनि नेता हुन् । शेखर लोसपाबाट अहिले राष्ट्रियसभा सदस्य छन् । लोसपामै रहँदा २०७४ सालमा सप्तरीको तिलाठी कोइलारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । लोसपामा भविष्य नदेखेपछि प्रदेशसभा सदस्यमा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे । जनमतको लहर देखेर पार्टी गरेको सिंह बताउँछन् ।

जनमतमा प्रवेश गर्नु अघि पनि प्रदेशसभामा टिकट पाउने आशा सिंहको थियो । सुनिश्चत भने थिएन । तर अन्ततः उनले टिकट पाए र सप्तरी २ को (ख) बाट भारी मतले निर्वाचित पनि भए ।

सिंहले मधेशको मुख्यमन्त्री पद सजिलै पाएका होइनन् । भाग्य साथमा भएपछि धेरैलाई पछि पादैं उनी मुख्यमन्त्री बने ।

जनमतमा मधेश प्रदेशमा महेश प्रसाद यादव संसदीय दलका नेता हुन् । संविधानतः यादव नै मुख्यमन्त्री बन्नु पर्दथ्यो । जनमतले मधेशको नेतृत्व पाउन लागेको निश्चित भएपछि महामन्त्री चन्दन सिंहले पनि मुख्यमन्त्रीमा आकांक्षा राखेका थिए । तर, दुवैलाई पन्छाएर सतीशले मुख्यमन्त्रीमा बाजी मारे ।

मधेस प्रदेशमा जनमतका १३ सांसद छन् । दलका नेता महेशलाई मुख्यमन्त्रीको रूपमा हेरिएको थियो । तर, जनमत पार्टीले सिंहलाई अगाडि सार्‍यो ।

रोचक त के छ भने मधेश प्रदेशमा जनमत पार्टीको संसदीय दलका नेता यादव र सतीश दुवैले सीके राउतकै निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचन जितेका हुन् । सिंह २ (१) र यादव २ (२) का सांसद हुन् ।

सिंह जनमतमा भए पनि उनका बावु शेखरकुमार सिंह लोसपामै छन् । सतीश जनमतमा प्रवेश गरे पनि पिता लोसपामै रहे । बावुलाई जनमतमा ल्याउन नसकेको आरोप पनि उनीमाथि लागेको थियो ।

सतीशका बुवा शेखर २०३५ सालदेखि पञ्चायतकालदेखि राजनीतिमा सक्रिय छन् । दोस्रो संविधानसभामा सप्तरीबाट शेखरले चुनाव हारे पछि छोरा सतीशलाई राजनीतिको नसा लाग्यो ।

उपधारा (२) को १ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान अनुसार सिंहलाई  मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहित अन्य दुई दलको ५६ सांसदको समर्थन लिएर सिंहले मुख्यमन्त्रीमा शुक्रबार मुख्यमन्त्रीको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का मुख्यमन्त्री रहेका सरोजकुमार यादवले प्रदेश सभा बैठकमा विश्वासको मत गुमाए पछि मधेशले नयाँ मुख्यमनत्री पाएको हो ।

यादवको सरकार ढलेलगत्तै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मधेसमा नयाँ सरकार गठनका लागि आह्वान गर्दै शुक्रबारसम्म समय दिएकी थिइन् ।