काठमाण्डु–सरकारले ११ देशमा रहेको नेपाली राजदूतलाई फिर्ता बोलाएको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनभिज्ञता जनाएका छन् ।
‘सरकारले आवश्यक ठानेर नै विभिन्न देशका राजदूतलाई फिर्ता बोलाएको होला’, शुक्रबार भरतपुर विमानस्थलमा सञ्चाचारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष ओलीले भने । ओलीले राजदूत फिर्ता बोलाएको विषय आफूलाई थाहा नभएको र त्यसको जवाफ सरकारले दिन सक्ने बताए ।
‘राजदूत फिर्ता गर्न सरकारलाई मन लाग्यो होला । यो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जान्ने कुरा हो । हामी हरेकले थाहा पाउँदैनौं यस्तो कुरा’, संक्षिप्त प्रतिक्रिया दिदै ओलीले भने ।
सरकारले अमेरिका, बेलायत, भारत, स्पेनलगायत विभिन्न ११ मदेशका नेपाली राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको हो ।
ओलीले वर्तमान सत्ता गठबन्धन भत्किए अस्थिरता हुने चेतावनी पनि दिए । ‘यसमा कोही कसैले पनि खेल्नु राम्रो हुँदैन । वर्तमान सरकारको गठबन्धन ढाल्न अनेक प्रयास भइरहेको छ । त्यस्तो प्रयास राष्ट्रिय राजनीतिको नकारात्मक पक्ष हो’, उनले भने ।
ओलीले सत्ता समीकरण दिगो हुने दावी गर्दै भने, ‘यो समीकरण भत्कियो भने कुनै राम्रो हुने छैन । त्यसैले यो समीकरण भत्किदैन । भत्किन दिइँदैन, ’ओलीले भने, ‘अस्थिरता जन्मिने स्थितिमा रमाउने, खुसी हुने होइन । अस्थिरतामा खेल्नु राम्रो होइन । ’ ओलीले आफ्नो अभिव्यक्ति शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको पनि प्रष्टयाए ।
केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्ने ओलीले अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले पनि त्यसको प्रतिवाद गरेकी थिइन् । उनले त्यस विषयमा आफूलाई त्यसमा जोड्नुको अर्थ नहुने बनाए ।
‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ’, ओलीले भने ।




प्रतिक्रिया