काठमाण्डु – काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार पक्राउ गरेको छ ।
श्रेष्ठलाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक(पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।
नक्सालमा रहेको करिव २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी दिइएको लिजको जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसमध्ये श्रेष्ठलाई सिआईबीले आज पक्राउ गरेको हो।
तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको थियो।
त्यस्तै तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारी, प्रविणराज जोशी, मुरारीनिधी तिवारी, श्रद्धा संघाई, पुरूषोत्तम राज जोशी, अभिनव सिंघानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो।




प्रतिक्रिया