देउवाले लिङ्देनसँग पत्रमार्फत मागे गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वास मत

देउवाले लिङ्देनसँग पत्रमार्फत मागे गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वास मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत माग गर्दै पत्र लेखेका छन्।

सभापति देउवाले शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनलाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग्दै पत्र लेखेका हुन् ।

‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु,’ देउवाले लिङ्देनलाई पठाएको पत्रमा लेखिएको छ।

मुख्यमन्त्रीले लिने विश्वास मतले गण्डकी प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने र दलहरूका बीचमा नयाँ विश्वास तथा सहकार्यको वातावरण बन्नेछ भन्‍ने देउवाको पत्रमा उल्लेख छ।

देउवाको सचिवालयका अनुसार सर्वोच्च अदालतले दिएको परमादेशअनुसार विशिष्ट परिस्थितिमा कांग्रेस संसदीय दल नेता पाण्डे गण्डकी मुख्यमन्त्री बनेको देउवाले पत्रमा उल्लेख गरेका छन्।

जेठ १६ गते सबैभन्दा ठूलो दलको नेताका हैसियतमा गण्डकीमा मुख्यमन्त्री नियुक्त कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दल नेता पाण्डेले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन्। बहुमतका लागि ३१ जना सांसद आवश्यक हुन्छ ।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मत असंवैधानिक भन्दै पाण्डे सर्वोच्च गएका थिए। रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पाण्डेलाई संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतमा ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो।

दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका खण्डमा पनि अझै बहुमतका लागि दुई सांसद आवश्यक पर्ने देखिन्छ। दीपक मनांगे र फणिन्द्र देवकोटा साथ लिएर मुख्यमन्त्री पाण्डे विश्वास मत लिने तयारीमा रहेको कांग्रेस नेताहरू बताउँछन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईनिकट देवकोटा २०७९ को चुनावमा माओवादी केन्द्रको चुनाव चिन्हमा जितेका थिए। गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीबाट एक सांसद रहेको अभिलेख पनि छ।