मधेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको माधव नेपालको दाबी

मधेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको माधव नेपालको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाणडु–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन बताएका छन् ।

पार्टीको कोशी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने कुरा दिवा सपनामात्रै भएको भन्दै टाउको दुखाउनुको सट्टा व्यापार गरेर बस्न सुझाव दिए ।

उनले मधेसमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आए पनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ गठबन्धनकै निर्णयअनुसार अघि बढिएको दाबी गरे । मुलुकको परिस्थितिअनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

मधेश प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री पद लिन प्रस्ताव आएको दाबी गर्दै उनले भने, ‘कांग्रेस, जसपा नेपालसहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरेको तर आफूले प्रदेश र केन्द्रमा एउटै गठबन्धनमा रहनु उचित हुने भएकाले प्रस्ताव अस्वीकार गरेको हुँ ।’

‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौं’, उनले भने, ‘परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ ।’

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको भूमिकालाई सकारात्मक रूपमा लिएको बताउँदै समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको बताए । मुलुकलाई समाजवादको बाटोतर्फ अघि बढाउन जनवादी क्रान्तिको आवश्यकता पर्ने उनको भनाइ छ।