गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएछन् । मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन् । विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ ।

यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दा ६० सदस्यीय प्रदेश सभाबाट ३० मत मात्र पाएका थिए।

सभामुख कृष्णप्रसाद धितालले तत्कालीन मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेपछि कांग्रेस नेता पाण्डे सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतले संविधानको धारा १६८ उपधारा २ अनुसार २ वा २ भन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउने प्रावधान अनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन नसेको भन्दै सोही धाराको उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।