काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्रीलाई शपथ गराउने तयारी भएको छ ।
नेकपा माओवादी केन्द्रभित्र नवनियुक्त मन्त्रीबारे असन्तुष्टि देखिएर शपथ प्रभावित हुनसक्ने आशंकाबीच शपथको तयारी भएको हो ।
माओवादी संसदीय दलका नेता मानबहादुर धामीले ओमविक्रम भाट ‘सरल’लाई सामाजिक विकासमन्त्री तथा लक्ष्मी विक र अक्कल रावललाई विना विभागीय मन्त्री बनाउन सिफारिस गरेका छन् ।
संसदीय दलको सिफारिसप्रति असन्तुष्टि जनाउँदै नेता खगराज भट्ट, झपटबहादुर साउँद, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले लिखित रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।
मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा लामो समयपछि सोमबार नेकपा एमाले र माओवादी केन्द्र सहभागी हुँदैछन् । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका नेता धामीको सिफारिसअनुसार मन्त्री नियुक्त गर्न भनेर दिल्ली गएका थिए । सोहीअनुसार मुख्यमन्त्री सोडारीले शपथको कार्यक्रम अगाडि बढाएका छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर शहरी, ऊर्जा तथा खानेपानी र सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा, खेलकुद र स्वास्थ्य सामाजिक मन्त्रालय बनाउने तयारी गरेका जनाइएको छ ।





प्रतिक्रिया