काठमाण्डु- सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा जवाफ दिन सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु,’ उनले भने ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा जानकारी गराउन सभामुखबाट रुलिङ माग गरेका थिए ।
यस्तै, एमालेका सचिव योगेश भट्टराई तोप्लेजुङको पहिरोबारे जानकारी गराउँदै उद्धार र विस्थापित बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणलगायतको विषयमा कुरा राखेका थिए ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको र प्रधानमन्त्रीले सदनलाई बिर्सेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे ।
उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि एक साता भइसकेको छ । प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भनेर तर, पाँच दिनसम्म यहाँ आउन सक्नुभएन ।’
उनले प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको उनले सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए ।




प्रतिक्रिया