काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत जेठ २८ गते ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ।
सांसद देवकोटामाथि शुक्रबार कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । चुमानले माओवादीले देवकोटालाई कारबाही गरेको जानकारी सभामुखले आजै प्रदेश सभा बैठकमा गराउनुपर्ने बताए ।
नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा माओवादीको चुनाव चिह्नबाट लडेर निर्वाचन जितेका थिए। उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको बताउँदै आएका छन् ।
माओवादीले आफ्नो चुनाव चिह्न लिएकोले देवकोटा माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ।
मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा एक दिन पहिले माओवादी गण्डकी संसदीय दलले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत नदिन जारी गरेको ह्विप देवकोटाले उल्लंघन गरेका थिए ।
ह्विप उल्लंघन गरेपछि माओवादी प्रमुख सचेतक सुशीला सिंखडाले कारबाहीका लागि सिफारिस गरेकी थिइन्। नेपाल समाजवादी पार्टीले भने निर्वाचन आयोगले पनि छुट्टै दलको सांसद भनेर प्रमाण पत्र दिएकाले माओवादीले ह्विप लगाउन नसक्ने दाबी गर्दै आएको छ।
गत जेठ २८ गते कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, देवकोटा, स्वतन्त्र सांसद दीपक मनाङेसमेतको समर्थनमा मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएका थिए। देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जामन्त्रीसमेत बनाएका छन्।




प्रतिक्रिया