६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँ नागरिक शेरबसँग भेटियो नेपाली नागरिकता

६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँ नागरिक शेरबसँग भेटियो नेपाली नागरिकता


काठमाण्डु – ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँ नागरिक शेरब ग्याल्मोसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नेपाली नागरिकता भेटाएको छ ।

सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने ग्याल्मोलाई ६ किलो सुन र ४८ लाख नगदसहित आइतबार राति पक्राउ गरिएको जानकारी दिए ।

उनको डेरामा खानतलासी गर्दा सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकतासमेत बरामद भएको बोगटीले जानकारी दिए । ग्याल्मोलाई सिआईबीले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको खोजी गर्दा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने ग्याल्मोलाई पक्राउ गरिएको जनाएको छ ।

उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका पनि बोगटीले बताए । बरामद भएको सुनको आधिकारिक तौल र परीक्षण गर्न बाँकी रहेको सिआइबीले जनाएको छ।