काठमाण्डु –नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ हुने फाइनलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नु हुनेछ ।
लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा फाइनल पुगेको छ । अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम यसपटक त्यसको बदला लिँदै पहिलो उपाधि जित्ने योजनामा हुनेछ ।
लिग चरणको प्रदर्शन हेर्दा दुवै टोली उपाधिका स्वाभाविक दाबेदार देखिएका छन् । लुम्बिनीले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै आफ्नो बलियो उपस्थिति देखाएको छ भने सुदूरपश्चिमले सुरुवाती उतारचढावपछि लगातार जित निकाल्दै फाइनलसम्मको यात्रा तय गरेको छ ।
लुम्बिनी : सन्तुलित टोली र उपाधि जोगाउने चुनौती
लुम्बिनी लायन्सले तेस्रो संस्करणमा समग्रमा सन्तुलित प्रदर्शन गरेको छ । लिग चरणमा सात खेल खेलेको लुम्बिनीले पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो । टोलीको नेट रनरेट पनि +१.२५६ रहेको थियो ।
लुम्बिनीको सबैभन्दा बलियो पक्ष यसको सन्तुलित खेल संयोजन हो । ब्याटिङमा एक वा दुई खेलाडीमा मात्र निर्भर नरहने र बलिङमा पनि फरक–फरक खेलाडीले जिम्मेवारी लिन सक्ने क्षमता टोलीमा देखिएको छ ।
रुबेन ट्रम्पलम्यान, शेर मल्ल, किशोर महतो र अभिषेश गौतमजस्ता बलरले विपक्षी टोलीलाई दबाबमा राख्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । विशेषगरी ट्रम्पलम्यानको सुरुवाती ओभरको बलिङ र शेर मल्लको प्रभावकारी प्रदर्शन लुम्बिनीका लागि महत्त्वपूर्ण पक्ष बनेको छ ।
क्वालिफायर–१ मा सुदूरपश्चिमलाई १०५ रनमै सीमित गर्नु लुम्बिनीको बलिङ क्षमताको उदाहरण हो । उक्त खेलमा ट्रम्पलम्यान र शेर मल्लले दुई–दुई विकेट लिएका थिए ।
ब्याटिङतर्फ निरोशन डिकवेलाले टोलीलाई भरपर्दो साथ दिएका छन् । क्वालिफायर–१ मा ३७ बलमा अविजित ५९ रन बनाउँदै उनले लुम्बिनीलाई सहज जित दिलाएका थिए । यस्तै डार्सी सर्ट, आसिफ शेख, रोहित पौडेल र सन्दीप जोरालगायतका खेलाडीबाट पनि टोलीले योगदानको अपेक्षा गर्नेछ ।
लुम्बिनीको अर्को सकारात्मक पक्ष भनेको दबाबपूर्ण अवस्थामा पनि खेललाई नियन्त्रणमा राख्न सक्ने क्षमता हो । तर, फाइनलमा सुदूरपश्चिमको बलियो मध्यक्रम र आक्रामक ब्याटिङलाई रोक्नु लुम्बिनीका लागि मुख्य चुनौती हुनेछ ।
सुदूरपश्चिम : निरन्तरता, अनुभव र कठिन परिस्थितिमा पुनरागमन
सुदूरपश्चिम रोयल्स एनपीएलको तीनवटै संस्करणमा फाइनल पुग्ने एक मात्र टोली बनेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा छ ।
तेस्रो संस्करणको लिग चरणमा सुदूरपश्चिमले सात खेलमध्ये पाँच जित र दुई हारसहित १० अंक जोडेको थियो । टोली दोस्रो स्थानमा रहेर प्लेअफमा प्रवेश गरेको थियो ।
सुदूरपश्चिमको मुख्य शक्ति कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व, अनुभव र खेललाई अन्तिमसम्म लैजान सक्ने क्षमता हो ।
ब्याटिङमा दीपेन्द्रको प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण रहँदै आएको छ । उनी प्रतियोगितामा सुदूरपश्चिमका सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । उनले हालसम्म २०२ रन बनाएका छन् ।
त्यस्तै, बलिङमा अनिल खरेलले प्रभावशाली प्रदर्शन गरेका छन ्। उनी टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १० विकेट लिएका छन् । स्कट कुगेलेइन, थारिन्दु रत्नायके, हेमन्त धामी र अन्य बलरले पनि टोलीको बलिङलाई बलियो बनाएका छन् ।
सुदूरपश्चिमको सबैभन्दा ठूलो विशेषता कठिन परिस्थितिमा पनि खेलमा फर्कन सक्ने क्षमता हो । क्वालिफायर–१ मा लुम्बिनीसँग ६ विकेटले पराजित भएपछि टोलीसँग फाइनल पुग्ने अर्को अवसर थियो । क्वालिफायर–२ मा चितवन राइनोजसँगको खेलमा पनि सुदूरपश्चिमले सहज जित निकाल्न सकेन ।
तेस्रो संस्करणमा यी दुई टोलीबीचको प्रतिस्पर्धा लुम्बिनीको पक्षमा देखिएको छ । लिग चरणको उद्घाटन खेलमै लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो । त्यसपछि क्वालिफायर–१ मा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
यसरी जारी संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई दुईपटक पराजित गरिसकेको छ । सुदूरपश्चिमका लागि फाइनलमा यी दुवै हारको जवाफ दिने अवसर हुनेछ ।
उपाधिका लागि दोस्रोपटक आमनेसामने
एनपीएलको दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनी र सुदूरपश्चिम नै आमनेसामने भएका थिए । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक पनि फाइनलमा उही दुई टोली प्रतिस्पर्धा गर्दैछन् ।
लुम्बिनीका लागि यो उपाधि जोगाउने अवसर हो भने सुदूरपश्चिमका लागि विगतका दुई फाइनलको निराशा अन्त्य गर्दै पहिलोपटक च्याम्पियन बन्ने अवसर । लगातार तीन संस्करण फाइनल पुग्नु सुदूरपश्चिमको निरन्तरताको परिचायक बनेको छ ।
अर्कोतर्फ, लुम्बिनीले यस संस्करणमा लिग चरणदेखि प्लेअफसम्म देखाएको प्रदर्शनलाई उपाधिसँग जोड्न चाहन्छ ।
यसर्थ, शनिबार हुने फाइनल केवल दुई टोलीबीचको उपाधि प्रतिस्पर्धा मात्र होइन, अघिल्लो संस्करणको फाइनलको पुनरावृत्ति पनि हो । लुम्बिनी आफ्नो वर्चस्व कायम राख्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम यसपटक इतिहास बदल्ने योजनासहित मैदानमा उत्रनेछ ।



प्रतिक्रिया