बहुवर्षे शिक्षा नीतिमा सुझाव संकलन गर्दै काठमाण्डु महानगर

बहुवर्षे शिक्षा नीतिमा सुझाव संकलन गर्दै काठमाण्डु महानगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले मस्यौदा गरेको ‘बहुवर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ ।

राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नुपर्नेछ । शहरी योजना आयोगका सदस्य इन्जिनीयर शैलेन्द्र झाका अनुसार समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकहरूलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिने जनाइएको छ ।

नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्य, विभागीय प्रमुखहरू, विद्यालय निरीक्षक, विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक, विद्यार्थी, शिक्षक (तहगत रूपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकसँग सुझाव लिइसकिएको छ । साना–साना समूहमा छलफल तथा कार्यशाला आयोजना गरेर पृष्ठपोषण लिइएको महानगरले जनाएको छ ।

५ वर्षका लागि तर्जुमा हुने भएकाले नीति कार्यान्वयनमा सबै पक्ष सहभागी हुन सक्ने र नतिजामा सबैले स्वामित्व ग्रहण गर्न सक्ने बनाउन शिक्षा क्षेत्रको उत्थानका लागि काम गरिरहनुभएका सबैलाई समेट्न, नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणको कार्यक्रम आयोजना गर्न लागिएको झाले बताए ।

यसरी प्राप्त भएका सुझावलाई समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगर सभामा लगेर छलफल गराइनेछ । त्यहाँ प्राप्त सुझावसहित नीति पारित हुनेछ । यसले महानगरपालिकाको २० वर्षको रणनीतिक योजना दीर्घकालीन लक्ष्य २१०० का योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न मद्दत गर्नेछ ।

यही नीतिका आधारमा कार्यक्रम तर्जुमा हुनेछन् । कार्यक्रम सञ्चालन गर्न बजेटको आकार र स्रोत सुनिश्चित हुनेछ । शहरी योजना आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार २ मिनेटमा अनलाइन फाराम भर्न सकिन्छ । सम्बन्धित व्यक्तित्वबाट उपयुक्त सुझाव लिने तयारी स्वरूप कार्यक्रममा सहभागी हुन अनलाइन आवेदन माग गरिएको महानगरले जनाएको छ ।