बालेनमाथि अमरेशले लगाए हिटलर बन्न खोजेको आरोप

बालेनमाथि अमरेशले लगाए हिटलर बन्न खोजेको आरोप


 

काठमाण्डु-स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई हिटलर बन्न खोजेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मेयर बालेनले पपुलिज्मको आडमा न्यायलाई नै निषेध गर्न खोजेको आरोप लगाए ।

काठमाडौँमा आन्दोलनरत कवाडी व्यवसायीमाथि दमन भएको भन्दै सांसद सिंहले भने, ‘मधेसका कवाडी व्यवसायीहरू आन्दोलनरत छन् । जबकि कानुनी रूपले पनि सही छन् । उनीहरूको शान्तिपूर्ण आन्दोलनमा बालेनको लाठी चार्ज भो ।’

उक्त घटना रङ्गभेद र जातिभेदको उदाहरण रहेको सांसद सिंहले दाबी गरे । प्रहरीको लाठीबाट दर्जनौँ कवाड व्यवसायी घाइते भएको पनि सांसद सिंहले संसदमा उठाए ।

सांसद सिंहले मेयर बालेनले काठमाडौँलाई रणमैदान बनाउन खोजेको पनि दाबी गरे ।

उनले भने, ‘संसद्मार्फत तमाम कवाडीलाई सबै कवाडी महानगर र बालेन साहको घर अगाडि थुपारौँ त्यसको लागि हामी साथ दिन्छौँ । किनभने टिट फर ट्याट, उहाँले नै सिकाउनुभएको हो ।’

पपुलिजमका नाममा दुनियाँमा तानाशाह जन्मिएकाले बालेन पनि त्यही बाटोमा रहेको पनि सांसद सिंहको आरोप छ । उनले भने, ‘हिटलर पनि निर्वाचित नै थिए । तर हिटलरका कारण जर्मनीको के हाल भो ?’