काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार साढे ५ घण्टा लामो छलफल भएको छ।
सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह प्रमुख सल्लाहकार कुमार बेनसहित बुढानीलकण्ठ पुगेका थिए।
बिहान ९ः४५ बजे पुगेका प्रधानमन्त्री शाह दिउँसो ३ बज्न करिब १० देखि १५ मिनेट बाँकी रहँदा त्यहाँबाट निस्किएको स्रोतले जनाएको छ।
भेटमा रास्वपा गम्भीर विवादमा परेका सांसद खगेन्द्र सुनारलाई बिदा गर्ने विषयमा गम्भीर छलफल भएको दाबी स्रोतले गरेको छ।
अर्कोतिर केही विचौलियासँग उठबस र सम्बन्ध देखिएको भन्दै प्रधानमन्त्री शाहले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीको विकल्प खोज्नेबारे पनि लामिछानेसँग कुरा गरेका छन् ।
एकजना महिलालाई गम्भीर गाली गलौज गरेको अडियो बाहिरिएपछि प्रधानमन्त्री र रवि दुवै खगेन्द्रलाई राजीनामा गराउने निष्कर्षमा पुगेको स्रोतले बताएको छ ।
यसमा दुवैजना सकारात्मक देखिए पनि त्यसका लागि आवश्यक कानुनी प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे लामो कुराकानी भएको बताइएको छ।
‘प्रमाण पुगेका आधारमा सुनारलाई बर्खास्त गर्ने विषयमा दुवै नेता सकारात्मक देखिएका छन्,’ स्रोतले भन्यो।
लञ्चसहित दुईजनाबीचको संवाद निजीस्तरमा पनि केन्द्रित भएको थियो । दुवैले लामो कुराकानी र खानपिनपछि तिहार मनाएर थप छलफलका लागि भेट्ने समझदारी गरेर उठेका छन् ।
बुधबार मात्रै आईजीपी कार्कीले देशभर मातहतका युनिट र कार्यालयका प्रमुखसहितसँग लामो भर्चुअल छलफल गरेका थिए। केही तनावपूर्ण देखिएका कार्कीले प्रहरी अधिकारीहरूलाई लक्षित नै गरेर अनुशासनहीन काम गर्नेलाई नछाड्ने चेतावनी दिएका थिए ।


प्रतिक्रिया