काठमाण्डु–सर्लाहीमा दुईवटा सवारी साधन ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा झण्डै १० जना घाइते भएका प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रु बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
गम्भीर अवस्थाका पाँच जना घाइतेलाई भर्खरै उपचारको लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस रायमाझी चोकमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक (लरी)मा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा रुपन्देही घर भएका हरिबहादुर चौधरी (थप ठेगाना र उमेर खुल्न बाँकी), रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीको मायादेवी गाउँपालिका– २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो ।




प्रतिक्रिया