बुटवल – लुम्बिनी प्रदेश सभामा पहिलो पटक संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सचेतक निमा गिरीको प्रस्तावमा संकल्प प्रस्ताव दर्ता भएको हो । संकल्प प्रस्तावमा नेकपा माओवादी केन्द्रकी सचेतक कृष्णा कुश्मा थारू र जसपा नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्ले समर्थक रहेका छन्।
प्रदेश सभा सचिवालयमा शुक्रबार दर्ता भएको प्रस्तावमा प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउ धनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाबारे उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेशमा सडक दुर्घटना र यसबाट हुने क्षतिको अवस्था दर्दनाक भएकाले त्यसको न्यूनिकरणका लागि पहल गर्न संकल्प प्रस्ताव दर्ता गरिएको सचेतक गिरीले बताए।
विक्रम संवत २०७७ देखि २०७९-२०८० सम्मको त्रीबर्षिय सवारी दुर्घटना विवरण अनुसार लुम्बिनी प्रदेशमा एक हजार पाँचसय ३९ जनाको मृत्यु भएको छ भने तीन हजार पाँच घाईते भएका छन् ।
सड़क दुर्घटना पश्चात समयमै उपचार नपाउने, उपचार पाएपनि उपचार महंगो हुने र लामो समय उपचार गर्नुपर्ने, दुर्घटना पीडितले अत्यन्तै शारिरिक र मानसिक कष्ट पाउने, दुर्घटनाका पीडित र पीडितको परिवार सडक दुर्घटनाको कारण विक्षिप्त बन्ने अवस्था रहेको प्रस्तावमा उल्लेख गरिएको छ ।
सडक दुर्घटनाका पीडितको लागि लुम्बिनी प्रदेश भित्र आकस्मिक उपचार, निःशुल्क उपचारको व्यवस्था गर्न र दुर्घटनापछि सिघ्र उद्दारको लागि प्रभावकारी संयन्त्रको व्यवस्था गर्न प्रस्तावमा माग गरिएको छ ।




प्रतिक्रिया