कांग्रेस र एमालेलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री

कांग्रेस र एमालेलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री

परिस्थिति र तरिका मिले पूरै कार्यकाल प्रधानमन्त्री रहने प्रचण्डको जिकिर


काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार संसद्को पूरै अवधि चल्ने दाबी गरेका छन् । बजारमा सरकार ढल्न लाग्यो भनेर हल्ला चलाइए पनि त्यसमा कुनै सत्यता नभएको भन्दै तरिका मिलाउन सकिए पूरै अवधि सरकारमा बसिने उनले दाबी गरे ।

पार्टीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई सरकारबाट हटाउनको लागि कांग्रेस र एमालेलाई सजिलो नभएको पनि दाबी गरे ।

इतिहास, मुद्दा र आन्दोलनका कारणले मात्रै नभई संसद्को जादु नम्बर (सिट संख्या) का कारणले पनि सरकार ढाल्न कसैले नसक्ने दाबी प्रधानमन्त्री प्रचण्डले गरेका हुन् । प्रचण्डले परिस्थिति र तरिका मिलेको खण्डमा पूरै कार्यकाल आफैँ प्रधानमन्त्री हुने जिकिर गरे ।

उनले भने,‘बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने विभिन्न कुरा आउँछन् । अर्कोले कुरा गर्दैछ, केही दिनपछि सरकार जाँदैछ रे भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको छ । यो भन्न थालेको प्रधानमन्त्री भएको बेलादेखि नै हो । मैले नै भन्थे कि सायद मलाई सबै मिलेर प्रधानमन्त्रीमा धेरै दिन बस्न दिन्नन होला, मैले पनि जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका पनि गतिविधि गरेर, जतिदिन बसिन्छ सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्कसँग काम गरे हुन्छ । सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’

उनले सत्तारुढ दलसँग गरेको समझदारी इमानदारीतापूवर्क पूरा गर्ने पनि बताए । ‘तैपनि, हामी इमानदार छौँ । हामीले राजनीतिक दलसँग जे समझदारी गरेका छौँ, जहिलेपनि इमानदरपूर्वक नै भएका समझदारी पूरा गर्नेछौँ,’ उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘त्यसकारण आजै केही हुन्छ कि, भोलि नै केही हुन्छ भन्ने कुरा बेकारको कुरा हो । त्यतातिर दिमाग लानै पर्दैन ।’