को बन्ला एकीकृत समाजवादीको अध्यक्ष ? माधव, झलनाथ र घनश्याम दौडधुपमा

को बन्ला एकीकृत समाजवादीको अध्यक्ष ? माधव, झलनाथ र घनश्याम दौडधुपमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाण्डुमा हुँदैछ । एमालेसँग विद्रोह गरेको ३४ महिनापछि हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनबाट नेतृत्वमा पुग्न वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएर गतिविधि बढाएका छन् ।

यसअघि एमालेको नेतृत्व गरिसकेका नेपाल र खनाल प्रस्तिपर्धामा उत्रिने तयारी गरिरहेका छन् । वर्तमान महासचिव भुसालले पुस्तान्तरणको कुरा उठाएर नेतृत्वमा जाने तयारी गरिरहेका छन् ।

निकटस्थ स्रोतले यसअघि खनाल र भुसाल प्राय एउटै मोर्चामा रहेकाले अन्तिममा प्रतिष्पर्धा हुने अवस्था आएमा भुसालले खनाललाई सघाउने बताउँछ । अहिले बार्गेनिङका लागि भुसालले अध्यक्षको दाबी गरिरहेको पनि स्रोतको भनाइ छ । त्यतिमात्र होइन, खनाल र भुसालसहित यसअघि नेपाल टिममा रहेका केही नेताबीच एउटै टिम बनाउन पटक–पटक छलफल भएको छ ।

एमालेबाट नेता नेपाल, खनालसहितले २०७८ भदौ २ गते विद्रोह गरेर नयाँ पार्टी बनाएका थिए । एमालेबाट विद्रोह गर्दा नेपाल र खनालले अध्यक्ष केपी शर्मा ओलीमा दक्षिणपन्थी अवसरवाद हावी भएको आरोप लगाएका थिए ।

अहिलेको परिस्थिति हेर्दा नेपाल र खनालबीच पार्टीको मार्गदर्शक सिद्धान्त, विचार, कार्यक्रम र कार्यदिशामा तिब्र मतभेद छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज)लाई पार्टीको मुख्य मार्गदर्शक सिद्धान्त बनाउनु पर्ने पक्षमा नेपाल छन् । जबजको औचित्य समाप्त भएको खनालले तर्क गरिरहेका छन् । समाजवादी क्रान्तिको आधार तय गर्न आफ्नो नेतृत्व आवश्यक भएको तर्क राख्दै खनालले सकेसम्म सहमतिमा नेतृत्वमा पुग्‍ने नभएमा प्रतिस्पर्धाबाट भए पनि नेतृत्वमा पुग्‍ने दाउ खोजिरहेका छन् ।

सहमतिमा नेतृत्व चयन गर्न नेपाल–खनाल, खनाल–भुसाल, भुसाल–नेपालबीच दोस्रो तहका नेताहरूले वार्ता गराइरहेका छन् । आइतबार मात्रै अध्यक्ष नेपाल र खनालबीच होटेल बसेरामा गोप्य भेट भएको थियो । भेटमा सहमतिबाटै नेतृत्व टुग्याउने नेपालको प्रस्तावमा खनालले केही जवाफ नदिएको भेटघाटको प्रबन्ध मिलाएका एक नेताले बताए । महाधिवेशनको सँघारमा नेताहरूबीच भेटवार्ता हुनु स्वाभाविक भएको नेता मेटमणि चौधरीले बताए । भेटमा महाधिवेशन एकतावद्ध र सफलतापूर्वक सम्पन्न गर्नेबारे कुराकानी भएको चौधरीले बताए ।

सहमतिमै नेतृत्व छनोट गर्ने विषयमा खनाल र महासचिव भुसालबीच बिहिबार खनाल निवास डल्लुमा तीन घण्टा लामो छलफल भएको नेताहरू बताउँछन् । त्यसयता खनाल र भुसाललगायत केही पदाधिकारीबीच तीन पटक भेटवार्ता भइसकेको छ ।

महाधिवेशनबाट २१ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित विधान पारित गर्ने तयारी छ । पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, ४ उपमहासचिव र ७ सचिव रहने व्यवस्था प्रस्तावित विधानमा गरिएको छ । नेताहरूबीच सहमतिमै राजनीतिक र सांगठनिक दस्तावेज लैजाने सहमति बनिसकेको बताइन्छ । तर, औपचारिक निर्णय नभएको नेताहरू बताउँछन् ।

प्रस्तावित विधानअनुसार अध्यक्षपछिको महत्वपूर्ण पद महासचिवमा उपमहासचिवद्वय प्रकाश ज्वाला, जगन्‍नाथ खतिवडाले प्रचार प्रसार सुरु गरेका छन् । सचिव रामकुमारी झाक्रीको पनि कार्यकर्ताबीच चर्चा–परिचर्चा भए पनि पछिल्लो समय पार्टीमा निस्क्रिय रहेकाले सम्भावना कम रहेको बताइन्छ ।

प्रस्तावित विधानमा केही संशोधन गर्न बुधबार सचिवालय बैठक बोलाइएको छ । महाधिवेशनका लागि देशभरिबाट १ हजार आठ सय प्रतिनिधि छानिएका छन् । पौने तीन लाख पार्टी सदस्य रहेको एकीकृत समाजवादीले १ सय ५० सदस्य बराबर एक प्रतिनिधि छनोट जानकारी दिएको छ ।

पार्टीले महाधिवेशन व्यवस्थापनका लागि १३ वटा समिति बनाएको छ । महाधिवेशन मूल समितिको संयोजकमा अध्यक्ष नेपाल छन् । अतिथि सत्कार समितिको संयोजकमा खनाललाई जिम्मेवारी दिइएको छ । प्रतिनिधि व्यवस्थापन समितिमा बेदुराम भुसाल, अर्थ परिचालनमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य समितिमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात समितिमा विजय पौडेल, प्रचार–प्रसार समितिमा जगन्नाथ खतिवडा, र स्वास्थ्य समितिको जिम्मेवारी नागेन्द्र चौधरीलाई दिइएको छ ।