काठमाण्डु – नेपाली कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय कार्यसमिति, केन्द्रका विभाग, समिति, आयोगलाई पूर्णता दिनुपर्ने उल्लेख छ । तर, १४ औं महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको साढे २ वर्षसम्म विधानमा भएको त्यो व्यवस्था व्यवहारमा कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।
पार्टी केन्द्रीय समितिमा हाराहारी ८५ प्रतिशत पकड रहे पनि सभापति देउवाले पार्टीका महत्वपूर्ण संरचना पूर्ण बनाउन त्यति चासो दिएका छैनन् ।
२९ मंसिर २०७८ मा सम्पन्न १४ औं महाधिवेशनबाट देउवा चार वर्षे कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए । नियमित कार्यकालको आधाभन्दा बढी समयसम्म देउवाले पार्टी संरचनालाई पूर्णता दिने काममा चरम बेवास्ता गर्दै आएका छन् ।
आफू नेतृत्वको केन्द्रीय समितिलाई देउवाले अझै पूर्णता दिन सकेका छैनन् । साढे दुई वर्षसम्म कोषाध्यक्ष नियुक्त भएका छैनन् । १४ औं महाधिवेशनदेखि कांग्रेसले कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था गरेको थियो । सभापति देउवाले आफू अनुकुल निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै कोषाध्यक्ष मनोनयन गर्न सक्ने भए पनि पार्टीको कोष चलाउने जिम्मा अझै कुनै नेतालाई दिन सकेका छैनन् ।
पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले कोषाध्यक्ष नहुँदा पार्टीमा अप्ठ्यारो परिरहेको बताए । कोषाध्यक्ष बन्न ज्ञानेन्द्रबहादुर कार्की, उमेश श्रेष्ठ, जीपछिरिङ लामा र व्यवसायी विनोद चौधरीले आकांक्षा देखाएका छन् । कार्की टेरामक्स प्रकरण र चौधरी बासबारी छालाजुत्ता प्रकरणमा सरकारी निकायको छानबिनमा छन् ।
संसदीय बोर्डमा बसेर निर्वाचनमा पार्टीको तर्फबाट टिकट दिन सक्ने शक्तिशाली र पार्टीको कोष चलाउने महत्वपूर्ण पद खाली हुँदा पार्टीको कोष सञ्चालनमा समस्या हुँदै आएको छ । कोषाध्यक्षको अभावमा कांग्रेसले महामन्त्री गगन थापा र केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा पार्टीको कोष सञ्चालन गरिरहेको छ ।
कोषाध्यक्षमात्र होइन देउवाले आफूले मनोनयन गर्न सक्ने एक केन्द्रीय सदस्य पनि अझै मनोनयन गरिसकेका छैनन् ।१६८ सदस्यीय केन्द्रीय समितिमा एक महिला केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दियो ।
देउवाले केन्द्रका विभागलाई पूर्णता, प्रशिक्षण प्रतिष्ठानलाई सक्रिय बनाउन सकेका छैनन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा हुने पार्टीको तल्लो तहसम्म प्रशिक्षण पुर्याउने केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पनि सदस्य नियुक्त भएका छैनन् । जसका कारण कांग्रेसले देशव्यापी प्रशिक्षण चलाउन सकेको छैन । खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्यलाई नियुक्त गरे पनि प्रतिष्ठानलाई पूर्णता दिन सकेका छैनन् ।
पार्टीका केन्द्रीय विभागको हाल पनि त्यस्तै छ । तत्कालिन सभापति सुशील कोइरालाको पालादेखि केन्द्रीय विभागले पूर्णता पाउन रोकिएको थियो । त्यसपछि देउवाले आफ्नो पहिलो कार्यकालमा केन्द्रीय विभागहरू गठन गर्न र पूर्णता दिन सकेनन् ।
१४ औँ महाधिवेशनबाट पार्टीमा विभागको संख्या ४८ बाट बढाएर ७० पुर्याए पनि देउवाले १८ विभागका प्रमुख नियुक्त गरेका छन् । त्यसमध्य १० विभागमा केही सदस्य नियुक्त भए पनि बाँकी विभागमा संयोजक मात्रै छन् । नेता/कार्यकर्तालाई पार्टीमा जिम्मेवारी दिएर पार्टीलाई क्रियाशील बनाउन देउवाले त्यति चासो दिएका छैनन् । प्रचार विभाग प्रमुख विश्वकर्माले सहमति जुटेका विभागमा प्रमुख र सदस्य चयन भए पनि धेरै गठन गर्न र पूर्णता दिन बाँकी रहेको बताए ।
पार्टीमा मात्रै होइन, कांग्रेसका भ्रातृसंस्थामा पनि त्यस्तै अवस्था छ । नेविसंघ, तरुण दल र महिला संघ कांग्रेसमा नेता उत्पादन गर्ने नर्सरीको रूपमा स्थापित रहे पनि पार्टीभित्रको गुट र उपगुटको शिकार हुँदा वर्षौंदेखि सुकेका छन् ।
यी भ्रातृसंस्था टीके प्रथामा चल्दै आएका छन् । पार्टीबाट टीका लगाएर आएकाले न समयमा महाधिवेशन गर्न सकेका छन्, न उनीहरूलाई पार्टीले सहजीकरण गर्न आवश्यक ठानेको छ ।
नेविसंघ, तरुण दल, महिला संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, भूतपूर्व सैनिक संघसहितका भ्रातृ संस्था वर्षौंदेखि टिके प्रथामा चल्दै आएका छन् ।
सभापति देउवा आफै नेविसंघका दोस्रो अध्यक्ष हुन् । अहिले पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल, नैनसिंह महर, बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधि, गोविन्द भट्टराई पनि नेविसंघको नेतृत्व गरेर नै पार्टीमा आएका हुन् ।
विधानविपरीत नेविसंघ ७ सय र तरुण दल ४ सय सदस्यीय देउवाले मनोनयन गरेका छन् । ९ लाख क्रियाशील सदस्यता भएको कांग्रेसका ८ तहका संरचनालाई कामकाजी बनाउन देउवाले नसकेको नेताहरू बताउँछन् ।




प्रतिक्रिया