आज केही स्थानमा भारी वर्षा हुने

आज केही स्थानमा भारी वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति भने देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो छ घण्टामा सबैभन्दा धेरै अछामको मंगलसेनमा ८७ दशमलव ६ मिलिमिटर पानी परेको छ । मंगलसेन र दैलेखको डण्डामा ठूलो पानी परेकाले त्यस क्षेत्र आसपासका खोलानालामा बाढी आउने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यस्तै सुनसरीको सुनसरी खोलामा पानीको सतह खतराको तहभन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमसम्म नै मनसुनी वायु सक्रिय भएकाले धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।